नियम १४
खानतलासी तथा बरामद सम्बन्धी कार्यविधि
(१) अनुसन्धान अधिकृतले राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा त्यस्तो कसूरसँग सम्बन्धित कुनै व्यक्ति वा दशी प्रमाण कुनै व्यक्तिसंग वा कुनै ठाउँमा छ भन्ने शंका गर्नु पर्ने मनासिब कारण भएमा निजले कसैको घर कम्पाउण्ड व्यापारिक परिसर, गोदाम, कारखाना वा जुनसुकै ठाउँमा प्रवेश गर्नु अघि अनुसूची–
९ बमोजिमको ढाँचामा खानतलासी सम्बन्धी सूचना दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खानतलासी गर्दा उक्त स्थानमा फेला परेका राजस्व चुहावट सम्बन्धी कसूरसँग सम्बन्धित वस्तुहरुको विवरण उल्लेख गरी माल वस्तुको धनी र उपलब्ध भएसम्म स्थानीय निकायका प्रतिनिधि वा कुनै सरकारी कर्मचारी तथा कम्तीमा दुई जना स्थानीय व्यक्तिको रोहबरमा अनुसूची–१० बमोजिमको ढाँचामा बरामदी मुचुल्का तयार गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम खानतलासी गर्दा बरामद भएको नगद, जिन्सी वा बिल बिजक, कागजात वा अन्य कुनै मालसमान आफूस“ग लानु परेमा अनुसन्धान अधिकृतले अनुसूची–११ बमोजिमको ढा“चामा त्यस्तो मालसमान बुझेको भर्पाइ सम्बन्धित वस्तुको धनी वा सो वस्तु जिम्मा रहेको व्यक्ति तथा कुनै संगठित संस्थाको हकमा त्यस्तो संस्थाको सञ्चालक वा पदाधिकारी वा जिम्मेवार कर्मचारीलाई दिनु
पर्नेछ ।
(४) बरामद भएको वस्तुको धनीले उपनियम (३) बमोजिम भरपाइ लिन इन्कार गरेमा बरामद भएको स्थानमा उपलब्ध भएसम्म स्थानीय निकायको प्रतिनिधि वा सरकारी कर्मचारी र कम्तीमा दुई जना स्थानीय व्यक्तिको रोहबरमा त्यस्तो भरपाइ टाँस गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको स्थानीय निकायको प्रतिनिधि वा सरकारी कर्मचारी र स्थानीय दुई जना व्यक्ति फेला नपरेमा काम तामेल गर्ने कर्मचारीले सो व्यहोरा मुचुल्कामा नै उल्लेख गरी त्यस्तो नगद, जिन्सी वा बिल बिजक, कागजात वा अन्य कुनै मालसमान बरामद गरिएको स्थानमा त्यस्तो भरपाइ टाँस गरे पछि सम्बन्धित व्यक्तिले रीतपूर्वक भरपाइ बुझेको मानिनेछ ।
(६) बरामदी मुचुल्कामा स्थानीय निकायका प्रतिनिधि वा कुनै सरकारी कर्मचारी तथा कम्तीमा दुई जना स्थानीय व्यक्ति उपलब्ध नभएमा सोही व्यहोरा खोली खानतलासी गर्न जाने टोलीका कर्मचारीहरुलाई रोहबरमा राखी काम सम्पन्न गर्नु पर्नेछ ।
(७) सम्बन्धित व्यक्ति फेला नपरेमा वा निजले रोहबरमा बस्न अस्वीकार गरेमा बरामदी मुचुल्कामा सोही व्यहोरा उल्लेख गर्नु पर्नेछ ।